व्यक्तिगत स्तरमा फोहोरको व्यवस्थापन कसरी गर्ने?

भरतपुर महानगरपालिकाबाट मात्रै प्रत्येक दिन करीव ६७ टन भन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ र लगभग ९५ प्रतिशत भन्दा धेरै ल्यान्डफिलमा उपचार नगरी सिधै विसर्जन गरिने गरेको छ। यदि हामीले बिभिन्न प्रयोगहरूबाट निस्कने फोहोरको मात्रा घटाउँदैनौं र यो वर्तमान दरमा उत्पादन भईरहने हो भने महानगरपालिकालाई फोहोर ब्यवस्थापन गर्न अर्को माहाभारत हुनेछ जुन स्मार्ट सहर बनाउने महानगरको परिकल्पनामा ठुलो अबरेध सिद्ध हुनेछ । यस्तो अवस्था हुनु पक्कै चिन्ताको विषय हो र फोहोरको समस्या हल गर्न हामी उपभोक्ता तहदेखि नै तत्काल कदम चाल्न निकै आवश्यक छ।

हामीले महानगरपालिकालाई फोहोर ब्यवस्थापनको लागि कर तिरिरहेका छौं। तर त्यसो भन्दैमा हामीले उत्पादन गरेको फोहोर ब्यवस्थापनमा हामी उपभोक्ताको कुनै जिम्मेवारी हुदैन भन्नु गलत हुनेछ। यदि हामीले हाम्रो कर्तब्य सहि तरिकाले निर्वाह गर्ने हो मात्रै भने पनि वातावरणमा परेको नकरात्मक प्रभावलाई निकै कम गर्न सकिन्छ । सचेत विकासप्रेमी नागरिकले पक्कै पनि यस विषयलाई मनन गर्नेछन् र हाल फोहोर व्यवस्थापनमा देखिएका चुनौतिहरु कम गर्न आवश्यक भुमिका खेल्नेछन्।

हाम्रो फाहोर हाम्रो जिम्मेवारी हो। फोहोर व्यवस्थापनको पहिलो चरण भनेको व्यक्तिगत स्तरमा उत्पादन हुने फोहोरलाई कम गर्नु हो। त्यस्ता फोहोरहरूको उत्पादन कम गर्न यहाँ दिईएका ५ सरल उपायहरू अभ्यासमा ल्याउन सकिन्छ जुन सहज र प्रभावकारी समेत छन्।

  • प्लास्टिक प्रयोग कम गर्नुहोस्

प्लास्टिकले हाम्रो जिवन सहज बनाएको छ तर यसको अनावश्यक र अधिकतम प्रयेग पर्यावरणको निम्ति आणविक हतियारहरू भन्दा ठूलो खतरा बन्दै गईरहेको छ जसको ब्यवस्थापन आजको विश्वलाई निकै ठुलो चुनौति पनि हो। वर्ल्ड इकोनोमिक फोरमको एक अध्ययन अनुसार २०५० सम्ममा पृथ्वीका समुद्रमा माछाभन्दा धेरै हानीकारक प्लास्टिक रहनेछ। एक प्लास्टिक बोतल आफै कुहिनको लागी १००० बर्षसम्म लाग्छ। प्लास्टिक, जब ल्याण्डफिलमा फालिन्छ हानिकारक हरितगृह ग्याँसहरू निकाल्ने गर्दछ।

यसको एउटै समाधान भनेको प्लास्टिक प्रयेग कम गर्नु र यसका विकल्पहरू खोज्नु नै हो। उदाहरणको लागी हामीले प्लास्टिक कप र प्लास्टिक कलमको साटो कागज कप र पुनः भर्न मिल्ने मसी कलमहरूको प्रयेग बढाउन सकिन्छ। प्लास्टिक स्ट्र प्रयोग गर्नु हुदैन र सामान खरिद गर्दा कपडाका झोला, जालको झोला वा मेटलका भाडाको प्रयोग गर्नुपर्दछ। कहिलेकाही आफ्नो पकेटलाई पनि झोलाको रूपमा प्रयोग गर्न सकिन्छ। निशुःल्क आउँछ भन्दैमा प्लास्टीकको अनावश्यक प्रयोग गर्ने बानीले हामीलाई कहिल्यै उन्नती तर्फ लैजान सक्दैन।

  • फोहोर बर्गिकरण गर्नुहोस्

सबै किसिमका फोहोरहरूलाई एकै डस्टबिनमा राख्नुहुदैन। त्यसको लागि अलग रंग भएको डस्टबिनको प्रयोग गर्नु पर्दछ। सामान्यतया हरियो, पहेँलो, सेतो, खरानी, निलो र रातो रंगको डस्टबिनको प्रयोग गरिन्छ। जैविक कुहीने फोहोरहरू हरीयो रंगको डस्टबिनमा, सिसाजन्य फोहोरहरू पहेंलो रंगको डस्टबिनमा, कागजजन्य फोहोरहरू सेतो रंगको डस्टबिनमा, धातुजन्य फोहेरहरू खरानी रंगको डस्टबिनमा, ​​खतरा र जोखिमयुक्त फोहोरहरू रातो र प्लास्टिकजन्य फोहोरहरू निलो रंगको डस्टबिनमा बर्गिकरण गर्नुपर्दछ।

कुहिने फोहोरलाई मलको रूपमा र नकुहिने तर पुनः प्रयोग गर्न सकिने फोहोरहरू जस्तै प्लास्टिकको डब्बा, बोतल लगायतका फोहोरहरू पुनः प्रयोग गर्नुपर्दछ। अन्य फोहोरहरूलाई फोहोरको गम्भिरता अनुसार मात्रै ब्यवस्थापन गर्नुपर्दछ। फोहोरको बर्गिकरण गर्नाले यसको ब्यवस्थापन सहज हुन्छ र धेरै फोहोरहरू ल्याण्डफिल साइटसम्म पुर्याउनै पर्दैन। केही फोहोरको बिक्रीबाट आम्दानी समेत गर्न सकिन्छ।

  • कम्पोस्टिंग बिधि अपनाउनुहोस्

Composting Workshop – Eastern Bays: St Heliers, Kohimarama, Glendowie, Mission Bay – Auckland

फोहोरबाट मोहोर निकाल्ने बिधिमध्य एक हो कम्पोस्टिंग बिधि । जैवक कुहिने फोहोरहरू जस्तै किचन र बगैँचाबाट निस्कने फोहोरहरूलाई घरमा नै कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिन्छ। कम्पोस्टिंग बिधिले घरेलु फोहोर उत्पादन ३० प्रतिशतसम्म घटाउन सक्छ। कम्पोस्ट मलहरू बिरुवाको विकासको लागि पनि लाभदायक छ किनकि यसले बिरूवाको लागि आवश्यक धेरै पोषकहरू प्रदान गर्दछ र यसलाई मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

  • पेपरलेस अभ्यास गर्नुहोस्

सामान्यतया ल्याण्डफिल साइटमा फ्याँकिने ३० प्रतिशत भन्दा धेरै फोहोरहरू कागज हुने गर्दछ। कागजजन्य फोहोरहरूको बर्गिकरण यदि घरमा नै गर्ने हो भने यसलाई कबाडीमा सजिलै बिक्री पनि गर्न सकिन्छ। त्यसो त फलामजन्य फोहोरको अझ राम्रो मुल्य हुन्छ। कागज राम्रोसँग कुहिन्छ पनि। पेपर प्लेट र कपहरू पनि फाोहोरकै रूपमा ल्याण्डफिल साइटमा गएर अन्त्य हुने हुन् । सकभर अनावश्यक कामहरूमा कागजको प्रयोग नगर्नुहोस्।

  • तिन आर (3R) विधि अपनाउनुहोस्

(3R विधि) कम गर्ने, पुनः प्रयोग र पुन: काममा ल्याउने विधिले फोहोर न्युनिकरणमा निकै ठुलो भुमिका खेल्दछ। उदाहरणको लागी, प्लास्टिक बोतलहरु फाल्नुको सट्टा गमला वा सजावटको लागि प्रयोग गर्न सकिन्छ। यसबाट अन्य DIY प्लास्टिक शोपीस बनाउन पनि सकिन्छ। डब्बाहरू सफा गरेर त्यसमा दाल, नुन, चामल लगायतका खाद्यान्न वा अन्य सामान राख्ने भाडो पनि बनाउन सकिन्छ। पुरानो काठ, ड्रमहरूबाट कम्पोस्ट बिन बनाउन सकिन्छ। त्यस्ता थप्रै बस्तुहरू छन् जसको पुनः प्रयोगबाट अन्य थप त्यस्तै बस्तुहरूको उपभोग कम गर्न सकिन्छ।

यी सब कुराहरू बास्तबमा सजिलै गर्न सकिने कुराहरू हुन्। यदि हामी हाम्रो वातावरणप्रति जिम्मेवार रहने हो र माथी दिईएका ५ सरल उपायहरू अभ्यासमा ल्याउने हो भने हामीले फोहोर ब्यवस्थापनमा निकै ठुलो सहयोग गर्न सक्ने थियौँ। स्मार्ट महानगरको स्मार्ट नगरवासी वन्न अब हामीले हाम्रो ब्यवहारमा परिवर्तन गर्नुपर्ने समय आएको छ। सुरूवात आफैबाट गरै, सुरूवात अजैबाट गरौँ।

ई. सागर कार्की
संस्थापक | बेटर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram