आज ऊ दुःखेकाे दिन

आज ऊ यसरी दुःख्यो
ऊ त्यो भन्दा बेसरी फेरि दुःख्नै सकिन ।

उसका आँखाबाट आँसु झरे
झरिरहे,
र पानीमा मिसिए
उसको आँसुले आज
पानीलाई पनि निथ्रुक्कै भिजाएको हुनुपर्छ
आज ऊ यसरी रोयो
ऊ त्यो भन्दा बेस्सरी फेरि रुनै सकिन ।

खै कुन भाषामा रोयो उसको ममता
खै कुन शब्दले सुनायो दैवलाई आफू दुःखेको कथा
खै कसरी माग्यो होला
सन्तानको निम्ति केही मुठ्ठी सास प्रकृतिसँग
खै कति लुकायो होला त्यो रातो चोट पानी भित्रै
नदेखोस् है मेरो मुटुको टुक्राले
जसले मानिसको असली रूप देखेन भन्दै
खै कति पटक पलाए होला बाँच्ने आशा मर्दा मर्दै
खै प…र कहाँसम्म पुर्यायो होला ति धमिला कारुणीक नजर
तैपनि मानिसहरू बीच नै भेटिन्छन् कि कोही साथी भन्दै
आज ऊ पल पलको मृत्यू मारिरह्यो
ऊ त्यसपछिको खुसी कहिलै बाँच्न सकिन ।

ए मुटु नभएको मान्छे,
पीडा त तिम्रो मृत्युले पनि हुन्छ यो छातीलाई
जब तिम्रा सपनाको एक पाउ जिन्दगी
कसैले कुल्चिन्छ, चुड्दिन्छ
र फ्याकिदीन्छ तड्पिनको लागि
थोरै खुसी आफ्नो बाँच्नको निम्ति
पुरै जिन्दगी अरूको खोस्न सक्ने तिमीलाई
त्यही आमाको आँसुले जिउन दिन्छ र??

– ई. सागर कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram